आ.व. २०८१/०८२ का विविध कार्यक्रम सम्पन्न

असार २६, २०८२

नारायणी सामुदायिक बन उपभोक्ता समूह, नवलपुर, गैंडाकोट नगरपालिका वडा नं. ६, ७ र ९ ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा नीतिको अधीनमा रही सञ्चालन गरेका विभिन्न सामाजिक, आर्थिक तथा वातावरणीय कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

समुहले महिलाहरूको सशक्तीकरणका लागि बाध्यवादन तालिम सञ्चालन गरी त्यसको समापन गरेको छ। साथै समुहको वातावरणमैत्री उद्यान विकास क्षेत्रअन्तर्गत फलफूलका बिरुवा रोपण, चर्खे पिङको उद्घाटन तथा पर्यापर्यटन प्रवर्द्धनका लागि घोडा सवार सेवा सञ्चालनको समेत उद्घाटन गरिएको छ।

यसैगरी गरिब तथा विपन्न वर्गलाई लक्षित गर्दै विपन्न घर निर्माण, शौचालय निर्माण, खानेपानीका धारा निर्माण, स्वास्थ्य बिमा सहयोगलगायतका कार्यक्रमहरू कार्यान्वयन गरिएको छ। साथै समुह क्षेत्रअन्तर्गतका विद्यालय, टोल विकास संस्था तथा अन्य सामाजिक संघ–संस्थाहरूलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।

कार्यक्रमहरू सफल, प्रभावकारी तथा रचनात्मक रहेको भन्दै सामुदायिक बनको समग्र विकासमा महत्वपूर्ण योगदान पुगेको सरोकारवालाहरूले उच्च मूल्यांकन गरेका छन्।

कार्यक्रमप्रति शुभेच्छा व्यक्त गर्दै संस्थापक अध्यक्ष तथा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, गण्डकी प्रदेशका उपाध्यक्षले भविष्यमा समयसापेक्ष रूपमा उपभोक्ताहरूको हितोन्नति र वन संरक्षणमा नारायणी सामुदायिक बन अझ सबल र सक्षम बन्दै अगाडि बढिरहोस् भन्ने कामना व्यक्त गर्नुभएको थियो।

Spread the love
Scroll to Top