असोज २८, २०८२
नारायणी सामुदायिक वन उपभोक्ता समिति, गैंडाकोट नगरपालिका वडा नं. ६, ७ र ९ ले आफ्नो कार्य क्षेत्रभित्रका उपभोक्ताहरूका लागि निःशुल्क रूपमा रातो माटो उपलब्ध गराउने व्यवस्था गरेको छ।
उपभोक्ताहरूलाई रातो माटो लिन जङ्गल क्षेत्रसम्म जान नपर्ने उद्देश्यले समितिले आफ्नो कार्यालय परिसरमै रातो माटो संकलन गरी वितरणको व्यवस्था मिलाएको हो। यस पहलले उपभोक्ताहरूको समय, श्रम र खर्च बचत हुनुका साथै वन क्षेत्रको अनावश्यक दोहन रोक्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ।
समितिले उपभोक्ताहरूलाई आवश्यक परेमा कार्यालय परिसरबाट समन्वय गरी रातो माटो प्राप्त गर्न अनुरोध गरेको छ। यस कार्यलाई उपभोक्ता मैत्री तथा वन संरक्षणमुखी पहलको रूपमा स्थानीयस्तरमा सकारात्मक रूपमा लिइएको छ।
