साउन २०, २०८२
नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका वडा नं. ६, ७ र ९, नवलपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गतको खण्ड–२ मा अवस्थित गैंडाकोट–९, थुम्सी बजारको उत्तरपट्टि रहेको “वातावरणमैत्री उद्यान” विकास क्षेत्रलाई पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्दै अघि बढिरहेको छ।
उक्त उद्यान विकास क्षेत्रअन्तर्गत हाल पिकनिक स्पोर्ट्स, घोडा सवार, भ्यू टावर, चर्खा पिङ, गोल विश्राम स्थल, सिमसार वनदेवी ताल निर्माणलगायतका संरचनाहरू विकास गरिएको छ। साथै धार्मिक तथा महत्वपूर्ण बोटबिरुवाहरू रोपण गरी क्षेत्रलाई प्राकृतिक रूपमा मनमोहक र आकर्षक बनाइएको छ।

आन्तरिक तथा बाह्य पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्किङ व्यवस्थापनसहित विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको समूहले जनाएको छ। यसले स्थानीय आर्थिक गतिविधि, रोजगारी र वन संरक्षणलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस अवसरमा संस्थापक अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, गण्डकी प्रदेशका उपाध्यक्षले सामुदायिक वनकर्मी अभियन्ता, सरोकारवाला निकाय, नियमनकारी निकायका उच्चपदस्थ अधिकारीहरू तथा तीनै तहका सरकारका जनप्रतिनिधिहरूलाई एकपटक उक्त क्षेत्रको अवलोकन गर्न सादर अनुरोध गर्नुभएको छ।
