पर्यटन पूर्वाधार योजना
नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट–९, नवलपुर
नारायणी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्यक्षेत्रअन्तर्गतको खण्ड–२ मा अवस्थित वातावरण मैत्री उधान क्षेत्रलाई पर्यापर्यटनको आकर्षक, सुरक्षित र व्यवस्थित गन्तव्य का रूपमा विकास गर्ने उद्देश्यले पर्यटन पूर्वाधार योजनाहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्दै आएको छ। गैंडाकोट–९, थुम्सी बजारको उत्तरपट्टि अवस्थित यस क्षेत्र प्राकृतिक सौन्दर्य, हरियाली र शान्त वातावरणका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने उच्च सम्भावना बोकेको छ।
यस योजनाअन्तर्गत हाल पिकनिक स्थल, घोडा सवारी, भ्यू टावर, चर्खा पिङ, गोल विश्राम स्थल, सिमसार क्षेत्र, वनदेवी मन्दिर, ताल निर्माण लगायतका प्रमुख संरचनाहरू निर्माण तथा विकास गरिएका छन्। यी संरचनाहरूले पर्यटकलाई मनोरञ्जन, विश्राम, धार्मिक अनुभूति र प्राकृतिक दृश्यावलोकनको अवसर प्रदान गर्दै आएको छ।
पर्यटकको सहज आवागमन र सुरक्षालाई ध्यानमा राख्दै सिँढी, रेलिङ, ढलान बाटो, आन्तरिक पदमार्ग, साथै सूचना तथा संकेत बोर्ड, नक्सा बोर्ड, सूचना पाटी जस्ता पूर्वाधारहरू निर्माण गरिएका छन्। विश्रामका लागि बस्ने बेञ्च, सरसफाइका लागि फोहरदानी, पर्यटकमैत्री तथा अपाङ्गमैत्री शौचालय, खानेपानी धारा र पानी ट्यांकी जस्ता सुविधाहरूको व्यवस्था गरिएको छ।
पर्यटनलाई अझ आकर्षक बनाउन भ्यू–डेक, फोटो प्वाइन्ट, सेल्फी प्वाइन्ट, उद्यान, हरित पार्क र बालउद्यान विकास गरिएको छ। साथै आकस्मिक अवस्थालाई मध्यनजर गर्दै प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड व्यवस्था, टिकट व्यवस्थापनका लागि प्रवेशद्वार तथा टिकट काउन्टर, जानकारी प्रवाहका लागि सूचना केन्द्र स्थापना गरिएको छ।
यी सम्पूर्ण पूर्वाधार विकासबाट स्थानीय पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, सामुदायिक सहभागिता वृद्धि हुनुका साथै वन संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। भविष्यमा थप संरचना विस्तार, सेवा सुधार र प्रविधिको प्रयोगमार्फत यस क्षेत्रलाई नमूना पर्यापर्यटन केन्द्र का रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
