वातावरणमैत्री योजना

नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट–९, नवलपुर

नारायणी सामुदायिक वन उपभोक्ता समूहले पर्यटन विकाससँगै प्राकृतिक सन्तुलन, जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापन लाई केन्द्रमा राख्दै वातावरणमैत्री योजनाहरू सञ्चालन गर्दै आएको छ। पर्यापर्यटन विकास गर्दा वातावरणमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले यी योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको हो।

यस योजनाअन्तर्गत धार्मिक, सांस्कृतिक तथा जैविक रूपमा महत्वपूर्ण बोटबिरुवाहरूको रोपण, हरियालीकरण तथा सौन्दर्यकरणका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सिमसार क्षेत्रको संरक्षण, पानी स्रोतको संरक्षण तथा प्राकृतिक आवास जोगाउने कार्यमार्फत जैविक विविधता संरक्षण मा जोड दिइएको छ।

फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन फोहर व्यवस्थापन प्रणाली, प्लास्टिक प्रयोग न्यूनीकरण अभियान, नियमित सफाइ अभियान सञ्चालन गरिँदै आएको छ। पर्यटकलाई वातावरणप्रति जिम्मेवार बनाउन सूचना पाटी, सचेतनामूलक सन्देश तथा व्यवहारिक अभ्यासहरू लागू गरिएको छ।

संरचना निर्माण गर्दा सम्भव भएसम्म प्राकृतिक र वातावरणमैत्री सामग्री प्रयोग गर्ने, हरियाली नष्ट नहुने गरी डिजाइन गर्ने र वन क्षेत्रको मौलिकता जोगाउने नीति अवलम्बन गरिएको छ। साथै प्रचार–प्रसारका लागि ब्रोजर, वेबसाइट, QR कोड जस्ता माध्यम प्रयोग गरी वातावरणमैत्री पर्यटनबारे जानकारी प्रवाह गरिएको छ।

नारायणी सामुदायिक वनको वातावरणमैत्री योजनाले दिगो विकास, हरित पर्यटन, स्वच्छ वातावरण र भावी पुस्ताका लागि सुरक्षित प्राकृतिक सम्पदा संरक्षण गर्ने लक्ष्य बोकेको छ। यसले पर्यटन र वातावरणबीच सन्तुलन कायम गर्दै समुदाय–केन्द्रित विकासको नमूना प्रस्तुत गरेको छ।

Scroll to Top