सामुदायिक वन दिवस २०८३ को अवसरमा नारायणी सामुदायिक वनद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
23 साउन ०८३, गैंडाकोट, सामुदायिक वन दिवस २०८३ को अवसर पारेर गैंडाकोट नगरपालिका वडा नं. ६, ७ र ९ कार्यक्षेत्र रहेको श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहले “अबको सामुदायिक वन : युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
नारायणी सामुदायिक वनको वातावरणमैत्री उद्यान परिसर, गैंडाकोट–९ मा आयोजित कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नारायणी सामुदायिक वन जिल्लामै उत्कृष्ट सामुदायिक वनका रूपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै वन संरक्षण, वातावरणीय सन्तुलन तथा दिगो व्यवस्थापनका कार्यलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउन शुभकामना व्यक्त गर्नुभयो।
प्रतियोगितामा गैंडाकोट नगरपालिकाभित्रका विभिन्न विद्यालय तथा गैंडाकोट वडा नं. ७ र ९ अन्तर्गतका टोल विकास संस्थाबाट गरी १८ जना विद्यार्थीको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले सामुदायिक वनमा युवाको भूमिका, हरित अर्थतन्त्रको महत्व तथा दिगो वन व्यवस्थापनका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा कालिका नमुना माध्यमिक विद्यालयकी लक्ष्मी सापकोटा प्रथम, शितलनगर टोल विकास संस्थाकी आरजु चापागाईं द्वितीय तथा विजय सामुदायिक शिक्षा सदनकी रेजिना मिश्र तृतीय हुन सफल हुनुभयो। त्यसैगरी कालिका नमुना माध्यमिक विद्यालयकी सृष्टि पोख्रेल, त्रिमूर्ति विद्यामन्दिरकी सोनिया गुरुङ र गैंडाकोट इङ्गलिस स्कूलकी आश्रिया शर्माले सान्त्वना स्थान प्राप्त गर्नुभयो।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई प्रमाणपत्रसहित रु. ५,०००, द्वितीय हुनेलाई प्रमाणपत्रसहित रु. ३,०००, तृतीय हुनेलाई प्रमाणपत्रसहित रु. २,००० तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्रसहित रु. १,००० नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले यस्ता कार्यक्रमले युवा पुस्तामा सामुदायिक वन संरक्षण, वातावरणीय सचेतना, हरित अर्थतन्त्र र दिगो विकासप्रति सकारात्मक सोच तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
