वन संरक्षण, दिगो व्यवस्थापन तथा स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट राष्ट्रियस्तरको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।
आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदान गरिएको उक्त पुरस्कार सामुदायिक वन दिवस २०८३ को अवसरमा सोमबार ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको हो। नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभागको आयोजनामा सम्पन्न कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नारायणी सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको हो।
यस पुरस्कारका लागि सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा स्थानीय समुदायको जीविकोपार्जन र सामाजिक–आर्थिक विकासमा पुर्याएको योगदानका आधारमा मूल्याङ्कन गरिएको थियो। उत्कृष्ट कार्यसम्पादनका कारण नारायणी सामुदायिक वन उपभोक्ता समूह यस वर्षको राष्ट्रिय पुरस्कारबाट सम्मानित हुन सफल भएको हो।

पुरस्कार ग्रहण गर्दै समूहका अध्यक्ष नेत्रराज सापकोटाले राष्ट्रियस्तरको सम्मानले सम्पूर्ण उपभोक्ता, पदाधिकारी तथा वन संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आएका सबै सरोकारवालामा थप उत्साह, प्रेरणा र जिम्मेवारी थपिएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी तथा समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै वन संरक्षण र दिगो व्यवस्थापनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राष्ट्रियस्तरको यो सम्मानले नारायणी सामुदायिक वन उपभोक्ता समूहले अवलम्बन गर्दै आएको उत्कृष्ट सामुदायिक वन व्यवस्थापन अभ्यासलाई थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। साथै, यस उपलब्धिले देशभरका अन्य सामुदायिक वन उपभोक्ता समूहहरूलाई पनि संरक्षण, दिगो व्यवस्थापन र समुदायको समृद्धिका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।
नारायणी सामुदायिक वन उपभोक्ता समूह परिवार सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी, सहयोगी निकाय तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।

