नारायणी सामुदायिक वन पुरस्कृत

नवलपुरमा उत्कृष्ट सामुदायिक वनका रूपमा नारायणी सामुदायिक वन पुरस्कृत

साउन २ गते। डिभिजन वन कार्यालय, नवलपुरले आर्थिक वर्ष २०८२/८३ को जिल्लास्तरीय मूल्याङ्कनका आधारमा नारायणी सामुदायिक वन उपभोक्ता समूह लाई उत्कृष्ट सामुदायिक वन को रूपमा सम्मान तथा पुरस्कृत गरेको छ।

सामुदायिक वनको संरक्षण, दिगो वन व्यवस्थापन, जैविक विविधताको संरक्षण, सुशासन, पारदर्शिता तथा उपभोक्तामुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका आधारमा नारायणी सामुदायिक वन उत्कृष्ट घोषित भएको हो।

पुरस्कार वितरण कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारी ले सामुदायिक वनहरूले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताउनुभयो। उहाँले नारायणी सामुदायिक वनले अनुकरणीय कार्यसम्पादन गर्दै जिल्लाका अन्य सामुदायिक वनहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा पनि वन संरक्षण, हरियाली प्रवर्द्धन तथा समुदायको सक्रिय सहभागितालाई अझ सुदृढ बनाउँदै अघि बढ्न आग्रह गर्नुभयो।

नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटा ले प्राप्त सम्मान सम्पूर्ण उपभोक्ता सदस्य, पदाधिकारी, कर्मचारी तथा वन संरक्षण अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैको साझा उपलब्धि भएको बताउनुभयो। उहाँले यस सम्मानले समूहलाई अझ बढी जिम्मेवार, प्रतिबद्ध र उत्साहित बनाएको उल्लेख गर्दै वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा समुदायको हितमा केन्द्रित कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सब डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्र, नारायणी सामुदायिक वनका उपाध्यक्ष धनपति सापकोटा, सचिव सीतागिरी, कोषाध्यक्ष बिमला मगर, कार्यालय सचिव हरि सापकोटा, शैक्षिक व्यक्तित्व ईश्वरी चापागाईं लगायत विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, नवलपुरले उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक वन उपभोक्ता समूहहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष जिल्लाभित्रका सामुदायिक वनहरूको मूल्याङ्कन गरी उत्कृष्ट सामुदायिक वन छनोट तथा सम्मान गर्दै आएको छ। यस कार्यक्रमले वन संरक्षण, दिगो व्यवस्थापन, सुशासन र समुदायको सहभागितामा आधारित अभ्यासलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

नारायणी सामुदायिक वनलाई प्राप्त यस सम्मानले समूहले विगतदेखि गर्दै आएको संरक्षण, व्यवस्थापन तथा समुदायमुखी विकासका प्रयासहरूको उच्च मूल्याङ्कन भएको पुष्टि गरेको छ। यस उपलब्धिले आगामी दिनमा वन संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीय समुदायको समृद्धिका लागि थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

Spread the love
Scroll to Top